युएईमा घरेलु कामदार ल्याउन दूतावासले प्रक्रिया थाल्यो
Harek Samachar
1:43 PM
0
रोजगारीका लागि घरेलु कामदार युएई ल्याउन नेपाली दूतावासले प्रक्रिया सुरु गरेको छ । सरकारले व्यवस्थित प्रावधानसहित कोटा प्रमाणीकरण प्रणाली ल्याएर महिला तथा पुरुषलाई घरेलु कामदारका रुपमा युएईलगायतका देशमा पठाउने व्यवस्था ल्याएपछि युएईको आबुधाबीमा रहेको नेपाली दूतावासले प्रक्रिया सुरु गरेको हो । वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी बनाइएको निर्देशिका २०७२ लाई संशोधन गरी २०७३ वैशाख २१ गतेबाट लागु गर्न सरकारले निर्देशन गरेकाले दूतावासले प्रक्रिया अघि बढाएको हो

सरकारले जारी गरेको निर्देशिका र त्यसमा भएका व्यवस्था अनुसार यहाँका स्थानीय एजेन्सीलाई सूचीकृत हुन दूतावासले सूचना जारी गरेर अनुरोध गरेको छ । स्थानीय एजेन्सीलाई गएको जुन ५ तारिकबाट आउदो जुलाई ४ सम्ममा दूतावासमा सूचिकृत हुन आग्रह गरिएको हो । प्रक्रिया पूरा गरेर दूतावासमा सूचीकृत एजेन्सीले मात्रै नेपालबाट घरेलु कामदार ल्याउन पाउने छन् ।
घरेलु कामदार ल्याउन चाहने स्थानीय एजेन्सीले ३७ हजार दिरहाम अर्थात झण्डै १० लाख रुपैयाँ दूतावासमा जम्मा गर्नुपर्ने छ । त्यस्तै दूतावासमा एजेन्सी सूचिकृत गर्दा दुई हजार दिरहाम लाग्नेछ ।
यसरी सूचिकृत भएका एजेन्सीको समयावधी सन् २०१७ सम्म रहने र नेपाल सरकारको निर्देशिका तथा स्थानीय कानुन अनुरुप दर्ता हुन आउने एजेन्सीहरुलाई छानविन गरेर घरेलु कामदार ल्याउन योग्य एजेन्सीको नामावली दूतावासले सार्वजनिक गर्ने कार्यवाहक राजदूत नेत्र बहादुर टन्डनले बताउनुभयो ।
यो प्रक्रिया अन्तर्गत निर्देशिकाले तोकेको मापदण्ड र व्यवस्था अनुरुप घरेलु कामदार युएई आए समस्या नपर्ने र समस्यामा पर्नेलाई एजेन्सीले दूतावासमा जमानत राखेको रकमबाट कामदरलाई सहयोग गर्न सकिने टण्डनको भनाइ छ ।
निर्देशिका अनुसार घरेलु कामदरका रुपमा महिला पुरुष दुवै आउन सक्ने व्यवस्था छ । पुरुषलाई घरेलु कामदारको रुपमा ल्याउदा दुतावासमा धरौटी बुझाउन नपर्ने, महिला तथा पुरुष संस्थागत रुपमै आउनु पर्ने र व्यक्तिगत रुपमा आउन नपाइने निर्देशिकामा उल्लेख छ ।
सरकारले केही महिना अघि युएईलगायत खाडीका अन्य मुलुकमा घरेलु कामदार सुरक्षित नभएको भन्दै घरेलु कामका लागि श्रम अनुमती दिन रोकेको थियो । युएईसँग पहिलेनै श्रम सम्झौता भईसकेको र घरेलु कामदारको समेत स्तरिय व्यवस्था रहेकाले सरकारले जारी गरेको निर्देशिका अनुसार प्रक्रिया अघि बढाइएको टण्डनले बताउनुभयो ।
No comments