Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:25 PM 0

आत्मीय साथी
मुटु भरीको सम्झना ।
कस्तो छ तिमीलाई ? आशा गर्छु ठिकै छौ । अनलाईनमा हेरेँ, धेरै दिनसम्म देख्न सकिनँ, त्यसैले यो पत्र लेख्न तम्सेँ ।अमेरिकाको ब्यस्त ज़िन्दगीबाट समय बचाएर तिमीलाई यो चिठ्ठी लेखिरहेको छु, आशा छ सरोकार राख्ने सबैलाई सुनाईदिने छौ । ए साँच्चै ! आफ्नो जन्मथलो नेपाल छाडेर अमेरिका भासिएको पनि एक वर्ष भईसकेछ हगि । यो एक वर्षमा तिमीले पठाएका सन्देशहरुको व्यस्तताका बावजुद् समयमा जवाफ फर्काउन नपाए पनि तिमीलाई सधै मिस गरिरहेको छु । अन्यथा नसम्झनु ल ।
तिमीले पढ्यौ-पढेनौ, सुन्यौ-सुनेनौ ? सपनाको देश अमेरिकाबाट हामीले के सिक्ने र के पछ्याउने ? सपनाको किनमेल गर्न अमेरिका भासिएपछि सबै सन्दर्भहरु समेटेर यो चिट्ठी लेख्दैछु । केही मेरा र केही मेराजस्तै मनहरुका अनुभवको फ़ेहरिस्त तयार गर्दैछु । मैले भुलेको छैन, मेरो अमेरिकाको भिसा लागेपछि मेरो हातमा भएको मोबाईलको अपेक्षा गर्नेहरुलाई मैले जवाफ दिएको थिएँ, ‘पुगेर काम पाएपछि आईफ़ोन-६ पठाईदिन्छु नि है । ल्यापटप र क्यामेराहरुको लिष्ट पनि मेसेन्जरमा आईरहेकै छ । तर यहाँ आएपछि यत्रतत्र हेरेँ त्यो आईफोनको रुख कतै भेटिएन । बरु धेरै दुख र थोरै सुख रहेछ । अरुलाई त के आफैँलाई फोन किन्न नसकेर त्यहि बिग्रेको मोबाईल फोन स्वीच अन अफ गर्दै चलाईरहेको छु ।
एयरपोर्टको बाटो आएकाकोभन्दा महिनौँ लगाएर समुद्री बाटो हुँदै मेक्सिकोको मृत्युपथबाट अमेरिका छिर्नेहरुको कथा सुन्ने हो भने मुटु छिया-छिया हुन्छ । जिन्दगीको साँचों अर्थ मलाई भन्दा उनीहरुलाई थाहा होला । अमेरिका त आईयो तर थुप्रै चुनौतीका पहाडहरु चढ्नुपर्ने रहेछ । नेपालमा सरकारी जागिरमा हाई काढेर समय बिताएर सेल्फी खिच्दै बस्नेले यहाँ १०-१२ घन्टासम्म उभिएर रेष्टुरेन्टमा जुठा भाँडा माझेको, हात फुटेर छियाछिया भएको, क्लिनिंगको काम गर्दै गरेको, शौचालय सफ़ा गरेको र मासु पसलमा बुचर बनेर मासु काटिरहेको फोटो फेसबुकमा अपलोड गरेको भए पो थाहा हुन्थ्यो अमेरिकाको जिन्दगी ।
यहाँ धेरैजसोको जिन्दगी खेताला सरह हो, हात-खुट्टा चलुञ्जेल पैसा नत्र हुँदैन । अंग्रेजी नजान्नेहरुको त बिजोगै हुन्छ यहाँ । तर केही नेपालीहरुको मेहनत र लगनशीलताले राम्रो गरेका पनि छन है । त्यो देख्दा भने गर्व लाग्छ । यो काम राम्रो र यो नराम्रो भन्ने हुँदैन, यहाँ सबै कामको सम्मान हुन्छ ।  जे होस् फूलैफूलको बगैँचाको छेवैमा खिचेको सेल्फीमाजस्तो छैन जिन्दगी यहाँ । गाउँ घर, टोल छिमेकमा सबैले बा-आमालाई भन्दै होलान्, छोरो अमेरिका छ के को दुख गरिरहन्छौ र ? फेसबुकमा अपलोड गरेका फोटोहरुले राम्रै देखाईरहेका छन्, अनि नभनुन् पनि कसरी ?
छिमेकी भाइले अस्ति फोन ग-यो, गाउँको बाटो पीच हुने भो रे । गाउँका विदेशमा भएकाहरुले एक-एक महिनाको तलब सहयोग गर्नुपर्यो रे । कति घण्टा काम गर्नुहुन्छ नि ? मैले उत्तर दिएँ, ‘दिनको दश घण्टा । घण्टाको कति हुन्छ नि ? मैले उत्तर दिएँ, ‘त्यहि त हो नि दश डलर।’ ए त्यसो भए त महिनामा तीन सय घन्टा, दशले गुन्दा तीन हजार डलर । नेपाली रुपैयाँ एक सय आठका दरले तीन लाख चौबिस हजार । भाइले ओठ टोके । यस्तै हिसाब साथीभाइले घरमा पनि सुनाएकै होलान् । घरमा तला थप्ने कुरा हुँदै थियो। बैनीलाई स्कूटी पनि नभई भा छैन रे । अमेरिकामा पुगेको एक वर्ष भाछैन, फलानाले त एक करोड पर्ने कार किन्यो रे अमेरिकामा, सिंगै घर भाडामा लिएको छ रे आदि आदि ।
यहाँ बिहान सबेरै काममा जानुपर्छ अनि राति आउँदा अबेर हुन्छ, सार्वजनिक सवारी सबै ठाउँमा नपुग्ने । अनि एक दुई हजार डलर दिए कार किन्न पाईने, बाँकी रकम किस्ताबन्दीमा बिना ब्याज । अनि किन्नै पर्यो । किनेँ पनि । कारको ईन्सटल्मेन्ट, कार ईन्स्योरेन्स, हेल्थ ईन्स्योरेन्स, लाईफ़ ईन्स्योरेन्स, फ्ल्याट रेन्ट,पार्किङ वाई-फाई, खानपिन र ग्यास अनि ट्याक्समा क्यास खत्तम । उता नेपालमा घण्टा-घण्टाको हिसाब भइरहेकै होला ।
दुबई, कतार, मलेसिया जाने दाजुभाइले पचास डिग्री सेन्टिग्रेडमा काम गरेर कमाएको पैसाको पनि यस्तै हिसाब निस्कन्छ, भने अमेरिकाको त के कुरा ? युरोपका धेरै देश र अष्ट्रेलिया, जापानतिरको कमाई र खर्च अनि ब्यस्तता पनि अमेरिका जस्तै त हो नि । त्यहाँ छोरा-छोरी भएकाले पनि त्यहि सोच्दै होलान् । फेसबुकमा अपलोड गरेका फोटोहरुमा ‘ल ल मोज गर’ भन्ने देखेकै होऔला ।
आज मलाई डा. रविन्द्र समीरले लेखेको ‘मुस्कान’ भन्ने लघुकथा झलझली याद आईरहेछ। नेपाल हुँदाको सामाजिक जीवन यहाँ आएपछि कुवाको भ्यागुतो जुरुक्क उठ्यो काममा, दिनभरी काममा जोतियो, लखतरान पर्यो फ्ल्याटमा फर्केर फ्रिजमा राखेको तीन दिनको बासी-तासी खायो सुत्यो…फेरि काममा हिड्यो.. क्रमश: उही दैनिकी । अझ सानो बच्चा हुनेहरुको त एक्लैले खर्च धान्नु पर्दा गाह्रै हुन्छ, हुन त राज्यले केही सहुलियत त दिन्छ तर त्यो सहयोग खर्चको अगाडि नगन्य नै हुन्छ ।
परिवार छाडेर पढ्न आएकाहरु कुलत र दूर्व्यसनमा फसेर गोरी अघिपछि लगाई खुट्टा लर्खराएर हिँडेकाहरुको कथा लेख्यो भने त झन कति लामो हुन्छ होला ? यहाँको विकेण्डको रात्री जीवन अनि बार र क्यासिनोको कथापनि…., भो नलेखौं । उनीहरुका बा-आमाले कति सपना बुनेका होलान् ? युरोप, अमेरिका, अष्ट्रेलिया र जापान पढ्ने केटालाई छोरी दिन मरिहत्ते गर्ने छिमेकी काका-काकीहरुले यहाँको सबै दृष्य देखे भने के जवाफ दिँदा हुन् ? हुन त अमेरिकामा के काम गर्नुहुन्छ बाबु भनेर त कसले सोध्या होला र ? अमेरिका भन्ने बित्तिकै झिलीमिली हुन्छ सबैलाई ।
फेरि पनि मान्छेहरु अमेरिका छिरेकोछिर्यै छन्, केही एयरपोर्ट त कोही समुद्रको बाटो भएर । आफू गयो, मलाई यो गन्थन लेख्छ भन्नुहोला, जनै छोएर भन्छु, मैले ढाँटेकै छैन । हो, देशमा राजनीति गन्हायो, स्वाभिमान गन्हायो, विदेशिनु अनिवार्यजस्तो भयो । तर राजनीतिमा राम्रा मान्छे आउने हो भने केही समयमै कायापलट हुन्छ । अमेरिकाका गगनचुम्बी महलभन्दा हाम्रै गाउँका डाँडाकाँडाहरु कति सुन्दर छन् कति ।
साँच्चै नै यहाँ आन्दोलनले बाटो बन्द नभएको देख्दा, फ्याक्ट्री बन्द नभएको देख्दा, सबैलाई समान नियम लागु भएको देख्दा आफ्नो देश सम्झेर धुरु-धुरु रुन मन लाग्छ । सबै आफन्त, रमाईला डाँडाकाँडा र सगरमाथासमेत बोकेर ल्याउन मिल्ने भए त स्वर्ग नै हो नि अमेरिका, तर के गर्नु, चाडवाडमा एक्लै रुनु पर्दा पो मन अमिलो हुन्छ, तर डलरको मोहले भोलिपल्ट आँशु लुकाएर काममा जानुपर्छ । भएका आफन्त पनि काममै ब्यस्त हुनुपर्छ ।
सबै कुरा एउटा सिष्टमले चल्ने, प्रविधिमा अब्बल, नागरिकमा करप्रतिको जागरण, जवाफदेही राज्य आदि-आदि कारणले होला नेपाल सहित विश्वका कलाकार, पत्रकार र चाटुफकारहरु अमेरिका भासिएको भासियै छन् । तर अमेरिकामै पनि उल्लेख्य संख्यामा होमलेसहरु र बेरोजगारहरु छ्यासछ्यास्ती भेटिन्छन् । एउटा सानो काम बनाउन नेताहरुको दौरा समाउने हाम्रो बाध्यता सम्झँदा यो मन कति दुख्छ कति । देशले भ्रष्टाचारमा दिन प्रतिदिन रेकर्ड राख्दा मन त कति भाँचिन्छ कति । परदेशमा हुँदा देश झन धेरै दुख्दोरहेछ।
तर के गर्नु अमेरिका आउने नाममा भएको पुर्ख्यौली गैरीखेत बेचियो, अब खर्च त उठाउनै पर्यो । त्यसैले सकेजति गरेकै छु । ए साँच्चै ! राजनीतिमा राम्रा मान्छे आए भने त देश बदलिन पनि कति समय लाग्ला र मित्र ! बरु स्वच्छ छवि भएकालाई अघि लाए हुने नि । तिमी हाम्रा हैन, राम्रा नेताको पछाडि लाग्नु है । खै के गर्नु र, कुकुर पाल्न मासिक चालिस हजार खर्चिने राजनीतिज्ञहरुले कामदारलाई तलबचाहीँ पाँच हजार दिने देश पनि हाम्रै हो ।
मलाई केहीसमय पछि यो ग्रीनकार्ड त्यागेरै नेपाल आउने मन छ, तर खोई यो जञ्जिरबाट मुक्ति पो पाईने हो कि हैन ।लेख्दालेख्दै गन्थन त लामो भएछ । जे होस् नेपालमा बसेर सोँचेजस्तो होईन रहेछ अमेरिका । तर अमेरिकाकै शैलीको मेहनत, विकास र प्रतिवद्धता हुने हो भने हाम्रै देश स्वर्ग हुने थियो, खै त्यो दिन कहिले आउने होला र ! बाँकी गन्थन अर्को भेटमा है ।

«
Next
»
Previous

No comments

Leave a Reply