मलेसियाबाट रित्तो हात नेपाल फर्किए पछी तरकारी खेतीमा मनग्गे आम्दानी
घरखर्च चलाउनसमेत मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै साहुसँग ऋण गरेर मलेसिया हानिएका मोरङ इटहरा–४ का दुर्गाप्रसाद गौतमले भनेजस्तो काम नपाएपछि दुई वर्षमै रित्तो हात नेपाल फर्किए । सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा मजदुरी गरेर परिवार पाल्नुपर्ने उनको बाध्यता गाउँमा सौर्य पम्पिङ प्रणालीबाट सिँचाइ सुविधा उपलब्ध भएपछि घरखर्चको लागि अब कसैको भर पर्नु परेन ।

जिल्ला कृषि विकास कार्यालय मोरङले इटहरा–४ मा कृषि क्रान्ति कृषक समूह नै गठन गरेर तरकारी खेतीतर्फ आकर्षित भएका किसानलाई निःशूल्क सौर्य पम्पिङ प्रणाली उपलब्ध गराएको हो ।समूहमा आवद्ध दुर्गाप्रसादले आफ्नै घर नजिक करेला, लौका, च्याऊ, फर्सी, काँक्रा खेतीलगाएका छन् ।
विगत एक वर्षयता सब्जीखेती गर्दै आएका दुर्गाप्रसाद अब विदेश जाने कल्पनासमेत गर्न छाडेका छन् ।
सिँचाइका लागि सौर्य पम्प जडान गरेपछि दुर्गाप्रसाद जस्तै छिमेकी लक्ष्मीप्रसाद घिमिरे, विष्णु भट्टराई, छाँया घिमिरे, तुङ्गप्रसाद आचार्य, केदार घिमिरेलगायतको दैनिकी अहिले सब्जी खेतीमै बित्ने गरेको छ । गाउँको १९ घर परिवारले तरकारी खेती गरेर मासिक ४० देखि ५० हजार रुपयाँसम्म आर्जन गर्न थालेका छन् ।
No comments