महाभूकम्पले लडेको गिरानचौर बस्ती यसरी उठाउँदैछन् धुर्मुस-सुन्तली ( भिडियोसहित )
Harek Samachar
3:41 AM
0
त्यसो त गिरानचौरमा कुनै चौर थिएन । थियो, त करिब ५ दर्जन घर भएको तामाङ वस्ती । त्यो पनि गत वैशाख १२ मा आएको भूकम्पले सो खण्डहरमा बदलिदियो । यतिबेला खण्डहरलाई नयाँ जीवन दिने अभियान सुरु भएको छ । अनलाइनखबरको टोली मंगलबार त्यहाँ पुग्दा ढुंगा पन्छाउने र जमिन सम्याउने काम जोडतोडले भइरहेको थियो । मानिसहरु तीनवटा ‘ब्लक’ मा बाँडिएर काम गरिरहेका थिए । भीर ताछ्नका लागि ल्याइएको डोजर भने ‘बिरामी’ भएर निर्माणस्थलमै सुतिरहेको थियो ।
एउटा ब्लकमा बेल्चा चलाइरहेको समूहभित्र दुई परिचित अनुहार थिए । उनै धुर्मुस-सुन्तली उर्फ सिताराम कट्टेल र कुञ्जना घिमिरे । बिहान पानी परे पनि दिउँसो बेस्सरी घाम चर्केको थियो । यहाँ न पानी पर्दा काम रोकिँदो रहेछ, न घाम चर्किँदा । एक छिनपछि कसैले सिटी फुक्यो र काम रोकियो । खाना खाने टाइम भएछ । ‘सिरियल चलाउन सजिलो कि बेल्चा चलाउन ?’ खाना खान बस्दै गर्दा कट्टेल दम्पत्तिलाई मैले सोधेँ । ‘दुवै सजिलो’ श्रीमान कट्टेलले दहि भात मुछ्दै दहिच्यूरे जवाफ दिए, ‘दुवै गाह्रो पनि ।’खाना खाइसकेर हामी माथ्लो कान्लातिर उक्लियौं ।

No comments