हेर्नुस विश्व मै नभएको ट्राफिक नियम हाम्रो नेपालमा
सवारीसाधनले ‘पासिङ लाइट’ बाल्नु आफूभन्दा अगाडिको सवारीसाधनलाई अघि बढ्न संकेत गर्नु हो । विश्वभरि पासिङ लाइटको यही नियम छ । तर, नेपालमा पासिङ लाइटको फरक नियम छ । नेपालको सडकमा पासिङ लाइट बाल्नु आफूलाई अगाडि जान अनुमति माग्नु हो । नेपालमा ९९% चालक पासिङ लाइट बालेर आफू अघि बढ्छन् । पासिङ लाइट मात्र होइन ‘साइड लाइट’बारे पनि उल्टो शिक्षा नेपालमा छ । पछाडिबाट आएको सवारीसाधनलाई ओभरटेकको अनुमति दिन अगाडिको सवारीसाधनका चालकले दायाँतर्फको साइड लाइट बाल्ने गर्छन् । तर, त्यसरी साइड दिनुपर्दा देब्रेतर्फको साइड लाइट बाल्ने ट्राफिक नियम विश्वभरि छ । दायाँतर्फको साइड लाइट बाल्दा गाडी दाहिनेतर्फ मोडिएको हो वा साइड दिएको हो भन्ने द्विविधा उत्पन्न हुने गरेको छ ।

नियमजस्तै बन्यो गलत शैली ट्राफिक महाशाखाका डिआइजी अर्यालका अनुसार नेपालमा राजमार्ग खुलेदेखि नै दायाँतर्फको साइड लाइट बालेर ओभरटेक गर्न संकेत दिने गलत नियम बसेको हो । ‘पहिला राजमार्ग साँघुरा थिए, ओभरटेक गर्दा गाडी ठोक्किन सक्ने भएकाले अगाडिको गाडीले दायाँतर्फको तथा पछाडिको गाडीले बायाँतर्फको साइड लाइट बाल्ने गर्थे,’ अर्यालले भने ‘ओभरटेक गर्ने क्रममा गाडी नठोक्कियोस् भनेर रातको समयमा चालकहरूले त्यसरी साइड लाइट बाल्ने गरेका थिए, त्यही नियमजस्तै बन्यो ।
चालकमा उल्टो ज्ञान छ : ट्राफिक साइड लाइट र पासिङ लाइटबारे नेपालका चालकमा गलत शिक्षा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्याल पनि स्विकार्छन् । ‘हो, हाम्रोमा साइड लाइट र पासिङ लाइटबारे गलत ज्ञान छ,’ अर्याल भन्छन्, ‘हामीले यसमा जनचेतना फैलाउने तयारी गरेका छौँ ।’ गलत ज्ञानले दुर्घटना ओभरटेक गर्न दायाँतर्फको साइड लाइट बाल्दा झुक्किएर दुर्घटनासमेत हुने गरेको ट्राफिक प्रहरीहरू बताउँछन् ।
नेपालमा दायाँतर्फ मोडिन खोज्दा पनि दायाँतर्फको साइड लाइट बाल्ने तथा पछाडिको गाडीलाई ओभरटेक गर्न संकेत दिँदा पनि दायाँतर्फकै साइड लाइट बाल्ने गरिन्छ । यसो गर्दा पछाडिका सवारीसाधनका चालक झुक्किने र दुर्घटना हुने गरेको छ । सडकमा गाडी रोकेर राख्दा पनि दायाँतर्फको साइड लाइट बाल्ने चलन छ । यसले अगाडि बढ्न संकेत गरेको हो वा गाडी मोडिन लागेको हो भन्नेमा पछाडिबाट आउने सवारीसाधनका चालक झुक्किने गरेका छन् ।
No comments