Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:55 PM 0

बेलुकीको आठ बजेतिर म स्नातकोत्तर दोश्रो वर्षको क्लासमा थिएँँ । घरबाट फोन आयो । क्लास सकिएपछि कलब्याक गर्ने उद्देश्येले फोन काटिदिएँ । केहीबेरपछि जब फोन गरेँ, संवाद सुरु गर्नु अघि नै फोन किन काटेको भनेर आमाले बेस्सरी गाली गर्नु भयो ।
 ‘यतिबेला कहाँ छेस् ?’ आमाले आत्तिएको स्वरमा भन्नुभयो ।  ‘तपाइँलाई थाहै छ त आमा, यतिबेला मेरो क्लास हुन्छ भनेर’ मैले जवाफ दिएँ । आमा बोल्नै छाडेर रुन थाल्नु भयो । आमा रुनुको कारण मैले बुझ्ने कोसिस गरेँ । ‘मलाई अरु केही थाह छैन, अबदेखि बेलुका बेलुका पढ्न जानु पर्दैन । बेला र समय खराब छ । जतिबेला जे पनि हुनसक्छ ।’ 
आमाको रोदन मिश्रित आवाजले मलाई सोच्न बाध्य तुल्यायो । केहीबेरपछि बल्ल बुझेँ, आमा डराउनुका पछाडि यरुना पुन मगरको हत्याको समाचार रहेछ । अध्ययन र रोजगारको शिलशिलामा भक्तपुरबाट चितवन पुगेकी आफ्नी छोरी पनि भोलि दुखद समाचारको हेडलाइन नबनोस् भनेर आमा आत्तिनु अस्वभाविक नभए पनि सम्झाउनका लागि मैले भने ‘आमा, चिन्ता नमान्नुस् । चितवनमा केही डर छैन ।’ आमाले उल्टै मलाई प्रश्न गर्नु भयो ‘के पोखरा पनि असुरक्षित थियो भन्ने हिजोसम्म थाह थियो र ?’
अहिले धेरैजसो आमाबाबुहरु आफ्ना छोराछोरीलाई यसरी नै प्रश्न सोधीरहेका होलान् । घाम डुब्नु अघि छोरी घरमा आइपुगिनन् भने अभिभावकको चिन्ता बढ्ने गर्छ । यसकारण कि समय समयमा मुटु कँपाउने विभत्स घटनाहरु दोहोरिरहने गर्छन् जसमा निर्दोष नारीहरु प्रत्यक्ष रुपमा हिंसाको शिकार हुने गर्छन् ।
चाहे त्यो शहर होस् चाहे दुर्गम गाउँ नै किन नहोस् । त्यसैले त केकी अधिकारी र प्रियङ्का कार्की जस्ता चर्चित सेलिब्रिटीहरु पनि अन्तत लाचार भएर अपराधीलाई कडा कारवाहीको माग राख्दै यरुनासँग यो समाजको तर्फबाट माफी माग्नु शिवाय अरु केही खास गर्न सक्दैनन् ।
घटना यसरी हुन्छ कि हामी नारीहरुलाई धेरथोर पुरुषहरु प्रति शङ्काको दृष्टिले हेर्न बाध्य बनाउँछ । यहाँसम्म कि आफूमाथि शारीरिक र मानसिक शोषण गर्ने अरु कोही नभएर प्राय आफ्नै बाबु, दाजुभाइ, धर्मदाई, छिमेकी, साथी, सहकर्मी, हाकीम वा अरु कोही हुन्छन् जोसँग हामी प्रत्यक्ष अप्रत्यक्ष जोडीइरहेका हुन्छौँ । उनीहरुसँगै ससङ्कित हुनुपर्छ अर्थात जोगिनुपर्छ । चाहे आफ्नै घर होस् चाहे सडक चाहे कार्यस्थल, महिलाहरु साँच्चिकै सुरक्षित रहने स्थान कतै पनि नभएको तितो बाध्यता हामीसँग छ । 
यरुना पुन मगर, हिजोसम्म कमैले मात्र सुनेको यो नाम आज सबैलाई प्रायः कण्ठ जस्तै भएको छ । अपराधीको विभत्स प्रहारबाट आफुलाई उम्काउन नसकेकी उनी पोखरा जस्तो सुरक्षित मानिएको ठाउँमा मारिन पुगिन् ।
उनको हत्याको पूर्ण रहस्य त अझै खुल्न बाँकी नै छ, तर सबैले बुझेको के हो भने आफ्नै धर्मदाइको खोल ओढेको व्यक्ति नै उनको हत्यारा बन्न पुग्यो । शहरहरुको अवस्था त यस्तो छ भने अनुमान गरौँ कुना कन्दराहरुमा बाँचीरहेका नारीहरुमा यौनजन्य हिंसा कति घटेका, घट्दै र घट्ने होलान्, त्यसको लेखाजोखा साँच्चिकै भएको होला त ?
नारी र पुरुष, यि दुबै एकआपसका परिपुरकहरु हुन् । उनीहरुको एकअर्काको पारस्परिक विश्वासबाट नै संसार चल्ने गर्छ । र यौन पनि आफैँमा सत्य हो र नियम पनि ।
तर व्यवहारमा यौन यसरी विकृत बन्दैछ कि पुरुष आफ्नो मर्यादा बिर्सिएर क्रुर बन्दैछ । महिलामाथि हुने गरेका दमन हिंसा र अत्याचार बिरुद्ध आवाज नउठेका पनि होइनन् तर घटना भैरहेका छन् ।
बिडम्बना, निश्चित समयको अन्तरालमा महिला हिंसाका जगन्य अपराधहरु दोहोरीरहेका छन् । ढेगनीदेवी, पूजा शाह, बसन्तपुर एसिड घटना, यरुना हत्याका समाचारहरु हामीलाई तितो यथार्थ बनेर बेलाबेलामा घोचिरहन्छन् ।
अपराध बढ्नुको अनेकौँ कारणमध्येको एक कारण हो कमजोर सजाय । जबरजस्ती करणीको नाम दिएर दिइने सजाय आफैमा कमजोर रहेको चौतर्फी आवाज आइरहेको छ । पन्ध्र सोह्र वर्षमा एउटा बलात्कारी जेलबाट छुट्न सक्छ, जतिबेला उसको आपराधिक सोच झनै बदला बनेर अझै ताजा नै रहेको हुन पनि सक्छ ।
फेरि पनि उबाट अर्की महिला बलात्कृत नहोली भन्न सकिन्न र उसलाई हेरेर अर्को व्यक्ति कमजोर सजायँको आंकलन गर्दै बलात्कार गर्ने दुस्साहस सजिलै गर्न सक्छ । त्यसैले पनि नेपाल र भारतजस्ता कमजोर सजाय भएका देशहरुमै यस्ता घटना झन् धेरै भैरहेका छन् । यसमा सम्बन्धित सबैको चासो जानु टड्कारो खाँचो देखिन्छ ।
आपराधिक सोच झनझनै बढीरहेकै छ। आजको एक बलात्कारीलाई कारबाही गर्दैमा मात्र बलात्कारको अन्त्य हुँदैन । नैतिक ज्ञानमार्फत् भोलिका बलात्कारीहरुलाई आजै रोक्न सक्नुपर्छ ।
युवापुस्ता मेमोरी कार्डमा अश्लिल सामाग्री बोकेर हिँड्दैछ, जसको प्रत्यक्ष असर उसको मष्तिष्कमा पर्दैछ । ऊ आफ्नो हर्कत पुरा गर्न कोही नारी खोजीरहेको हुन्छ र जब उसले कुनै नारी भेट्छ आफ्नो हर्कतका लागि उ जतिसुकै गिर्न पनि तयार हुन्छ । चाहे त्यो नारी उसको छोरी होस्, बहिनी होस् ।
चाहे त्यो नाबालिका होस् चाहे अपाङ्गता भएकी होस् । त्यसैले त यौवन के हो भन्ने थाह सम्म नभएकी पूजा साह अपराधीको पञ्जामा पर्न पुग्छिन् र कलिलै उमेरमा ज्यान गुमाउन पुग्छिन् । यसकारण पनि नैतिक ज्ञान मार्फत महिलाको सम्मान गर्न नसिकाए न त अपराध सकिनेछ न त आपराधिक सोच ।
हामी कामना गरिरहेकै हुन्छौँ यस्ता घटना नदोहोरियोस् भनेर । यसका लागि प्रयासहरु पनि नभएका भने होइनन् । तर पनि श्रृङ्खलाबद्ध शैलीमा घटना हुँदा राज्यको उपस्थिति शून्यप्राय देखिनुले हामीलाई सोच्न बाध्य बनाउँछ ।
बलात्कारी भाइरसको दोष राज्यलाई मात्र थोपरेर आफू उम्किने स्थिति भने पक्कै पनि छैन । छोरीलाई साँझ पर्नु अघि नै घर आउने नियम जारी गर्नु साटो छोरालाई महिलालाई सम्मान गर्नुपर्छ भनेर सिकाउनु अझ प्रभावकारी हुन सक्छ । बलात्कार भइसकेपछि अपराधी खोज्नु भन्दा बलात्कार हुनै नदिनु आजको प्रमुख आवश्यकता हो ।
अन्त्यमा, सम्बन्धित सबैसँग मेरो प्रश्न, के म मेरो आमाले भनेको जस्तो थोरै मात्र अबेला हुँदा पनि डराइरहनु पर्ने हो त ? राज्यले कहिलेसम्म हाम्रो सुरक्षाको ग्यारेन्टी गर्न सक्छ ? हामीहरु ढोका थुनेर कोठामा डराउँदै बस्नुपर्ने दिनको अन्त्य कहिले होला ?

«
Next
»
Previous

No comments

Leave a Reply