अम्बर गुरुङको अन्तर्वार्ता : म व्यक्तिलाई होइन मेरो संघर्षलाई सम्झिदेउन् भन्ने लाग्छ
Harek Samachar
12:58 AM
0
जेष्ठ २५, २०७३- २०६२/६३ को जनआन्दोलन सफल भएपछि सुरु भएको पुर्नंसरचना अभियानमा पहिलोपटक संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान गठन भएको थियो । र, त्यसको पहिलो कुलपति बनेका थिए अम्बर गुरुङ । भारतको दार्जिलिङमा जन्मिएर पछि नेपाल आइ ख्याती कमाएका संगीतकार, गायक र गीतकार अम्बरसँग उनको संगीत र जीवनबारे देवेन्द्र भट्टराईले लिएको अन्तर्वार्ता २०६९ को भदौमा कान्तिपुर कोसेलीमा प्रकाशित भएको थियो । आज बिहान निधन भएका गुरुङको त्यो अन्तर्वार्ताको केही अंश यहाँ प्रस्तुत गरिएको छ : सर, जातीय, क्षेत्रीय चासोहरु जागृत भैरहेका बेला गुरुङ जातीबाट पहिलो कुलपति हुनुभएको घटनालाई कसरी लिनुभएको छ ? मलाई जातीय, क्षेत्रीय, वर्गीय चेतना पटक्कै छैन । हाम्रो मूल थलो नेपाल हो र हामी मूलत: नेपाली हौं । चाहे हामी भाक्सु बसौं वा दार्जीलिङ अथवा अरु विदेशी मुलुक ।
हाम्रा पुर्खाहरु यतैका हुन् । अद्भुत र सुन्दर ठाउँ हो नेपाल जहाँ जातीय विविधता लुकेको छ । यहाँका बाहुनहरुले गुरुङ गीत गाइरहेका हुन्छन् भने क्षेत्रीहरुले तामाङ गीत । एक ठाउँमा तामाङ केटीले रत्यौली गाएको देखेर म चकित परेको छु । र, म आफूलाई गुरुङबाट भएको कुलपति भन्ने भ्रम छैन । म गुरुङ होला, कोही राई अथवा कोही बाहुन होला– यसरी बंश र जातिलाई प्राथमिकता दिनु गलत देख्छु म । नेपालमा जातीय सुगन्ध छ, जातजातिले सिंगो नेपालका लागि खन्याएको पसिनामा पनि सुगन्ध छ । हामी सबभन्दा पहिला नेपाली हौं, अनि मात्रै अरु जातजाति वा समुदाय हौं ।
बल्लतल्ल एकेडेमी स्थापना भएको छ । तपाइहरुसँग घर–जग्गा, जायजेथा नभएको स्थिती छ । तर एकेडेमी कार्ययोजनाको कुरा गर्दा भने खाली अर्केष्ट्रा निर्माणकै गफ मात्रै सुनिने गरेको छ, यो अनौठो के हो नि ?
हो, हामीसँग कार्यालयका निम्ति एउटा आफ्नै घरसम्म पनि छैन, हालत एकदमै खराब छ । मासिक १ लाख १५ हजार रुपैयाँको भाडाघरमा बसेका छौं ।
तपाईहरु सधैं कला, संस्कृति प्रबद्र्धनको कुरा गर्नुहुन्छ तर राज्यले यसमा लगानी कत्ति गरेको छ, कहिल्यै सोध्ने गर्नुभएको छ ? यसकारण मैले पनि अब लगानीको कुरा गर्न थालेको हुँ । ‘अर्केष्ट्रा’ निर्माण व्यक्तिगत सपनाको कुरा होइन । यो राष्ट्रको कुरा हो । जापान, चीनले अर्केष्ट्रा निर्माण गरेको र देश–दुनियाँलाई सुनाएको के उनीहरुको आफ्नो म्युजिक नभएर हो र ? होइन, उनीहरुसँग आफ्नै संगीत दुनियाँ छ । तर उनीहरु अर्केष्ट्रा, सिम्फोनीमार्फत् भिन्न चिनारी फैलाइरहेका हुन्छन् । अब नेपाली–नेपाली भनेर र इतिहासका वीर गाथा मात्रै गाएर केही हुँदैन । अब नयाँ दुनियाँमा, ग्लोबल जगतमा केही नयाँ काम कुरा गर्नैपर्छ ।
यसकारण म राष्ट्रको नवचिनारी सम्झेर कुरा गरिरहेको छु, अर्केष्ट्राका बारेमा । अर्केष्ट्रामा पनि ‘सेन्ट्रल फिल हार्मोनिक’ अर्केष्ट्राको निर्माण गर्ने सपना र योजना हो मेरो । तर यहाँ ‘अर्केष्ट्रा’ बुझ्न–बुझाउन सकेको अवस्था छैन । धेरै बर्षदेखि हामीले शेक्सपियर, सात्र्र, कामुसम्मको नाम सुनेका छौं । विश्व साहित्य पढेर अथवा चेखव, मोपासा, टल्सटाय पढेर धेरै कुरा बुझेका छौं । तर यस्तो कुरा भाषामा मात्रै सिमित रहने कुरा होइन ।

संगीतमा पनि उत्तिकै लागु हुनु जरुरी छ । तर यो मर्मलाई यहाँ कसैले बुझिदिएन । अझ एउटा आक्षेप छ रे, ‘एकेडेमीले किन विदेशी संगीतमा ध्यान दिनुपर्यो भन्ने ?’ यसमा मेरो जवाफ छ– हामीले विश्व साहित्य पढ्नु हुने, हामीले विश्व संगीत चाहिँ बजाउन नहुने ? के हामी केही गर्नलायकको छैनौं र ? आज चारैतिरबाट छाएको यस्तै संकीर्ण बिचारका कारण हामी असमझदारीका शिकार भएका छौं ।
राजनीतिक तहमा कला, संगीत, साहित्यबारेको बुझाइ कत्तिको छ ?
पटक्कै छैन ।
धेरै राजनीतिज्ञले साहित्यलाई सामान्य लेखरचना सम्झन्छन्, बैरागी काईंलालाई त्यसैगरी सम्झेका छन् । शताब्दि अघि कुनै लेखकले मस्कोमा बसेर रुसी भाषामा लेखेका कथाहरु आज किन यहाँ पढिन्छ ? यो मानवीय संवेदनाको कुरा खोइ कसले बुझिदिने ? ऊबेलाको चिनियाँ, जापानी साहित्य किन आज पढिन्छ ? अर्कातिर संगीतलाई कसरी बुझिएको छ भने यो केवल मनोरञ्जनको कुरा मात्रै हो । साहित्य पढ्नुपर्यो, पेन्टिङ देखाउनुपर्यो तर म्युजिक एकदमै गतिशील कला हो ।
यो बुझबुझारथ हुन सकेको छैन ।
‘नौलाख तारा’बाट उठेर आजको स्थितिसम्म आउँछु भन्ने सपना/बिपनामा कहिल्यै सोच्नुभएको थियो ?
मैले कहिल्यै सोचेको थिइनँ । आज कुलपति भैसक्दा पनि मैले आफूलाई त्यो उचाइमा राखेको छैन । बरु, निश्चयै यो पद भने सम्मानित र उच्च बिन्दूको प्राज्ञिक पद हो । जो आए पनि यो पद मर्यादित हो । पदलाई जोगाउन सक्ने हैसियत भने हुनैपर्छ ।
एउटा संगीतज्ञका बुझाइमा ‘नौलाख तारा’ मा त्यस्तो के तागत छ जसलाई अझै फर्माइस आइरहन्छ ?
हो, ‘नौलाख तारा’ गाएको ५० बर्षपछि पनि आज यसैको फर्माइस छ, मलाई अचम्म लाग्छ । ‘यत्रो अवधिमा नौलाख ताराजस्तो अर्को गीत किन आएन, न नेपालमा बस्नेले लेख्न सके, न बाहिरबाटै आयो— किन होला ?’ हालसालै एक फ्यानले गरेको यो प्रश्नले मलाई धेरैबेर हल्लाइरह्यो । नेपाल र प्रवासको सम्बन्धमा यो गीत साँच्चिकै एउटा ‘सेतु’ हो ।
दार्जीलिङ मात्रै होइन, विश्वभर रहेका नेपालीका लागि लेखिएको यो ‘प्रतिक गीत’ हो । नेपाल र संसारभर छरिएका नेपालीले ‘नौलाख तारा’ लाई सहजै स्वीकार गरे । किनभने सबै नेपालीले प्रवासी दु:खलाई प्रत्यक्ष अनुभव नगरे पनि मर्मलाई भने आत्मसात गरेकै हुन् । यो गीतका रचनाकार अगमसिंह गिरी र रेकिर्डङ गरिदिने सच्चिन्द्रमणि गुरुङलाई म कहिल्यै भुल्न सक्दिनँ । किनभने यही गीतका कारण मेरो नेपालमा आगमन भयो, आफ्नो माटोमा म आइपुगें । नौलाख तारा नेपालको दु:ख होइन, नेपालीको दु:ख हो । भावह्विल पार्ने सन्देश छ यसमा । अगमसिंहलाई नभटेको भए, नौलाख नगाएको भए अथवा नेपाल नआएको भए के हुन्थ्यो भनेर कहिलेकाही स्वैरकाल्पनिक बन्नुहुन्छ सर ? हो, म कहिलेकाही हाइपोथेटिकल बन्छु । तर म कहाँ हुन्थे होला भनेर साह्रै चिन्तामा डुब्दिनँ ।
एउटा कुरा के निश्चय छ भने मलाई ईश्वरले म्युजिक भने बरदानमैं दिएकै हो । दार्जीलिङ छँदा म भ्वाइलिन बजाउँथे, पियानो बजाउँथे । मैंले पियानो बजाएको देखेर सबैले ‘तिमी ठूलो ठाउँमा जाउ, मुम्बइतिर जाउ’ भनेर हौस्याए । म गएँ पनि । तर पछि बुझें, मलाई त्यहाँ बस्नु/गर्नु लेखिएको रहेनछ । मलाई थाहा भयो– लेखान्तमा मलाई नेपालै आउनु रहेछ । म अहिले पनि (त्यही बेलाझैं) संगीतलाई उत्तिकै प्रेम गर्छु ।
एउटा प्रेम जहाँ म १९ बर्षको छु र, मेरी प्रेमिका १५ बर्षकी छन् र, जसलाई म दिलोज्यानले प्रेम गरिरहेको हुन्छु, संसार भुलेर । सर, नेपालीहरु जतै गए पनि संघर्ष र दु:खका प्रतीक हुन त ? कति हदसम्म यो सत्य कुरा पनि हो । तर अर्को कुरा पनि छ, नेपालीहरु दु:खसग डराउँदैनन् पनि । डराउनु हुन्न पनि । आत्तिएर, भागेर जानु कहीं छैन । दार्जीलिङमा हामी चियापत्ती टिप्न जान्थ्यौं । पूर्वी नेपालका धेरै नेपाली दार्जीलिङका सुन फल्छ भनेर बगानतिर छिरेका हुन् । बाजे, बाराजुदेखिकै पुस्ता उतै रह्यो । सधैं दु:ख र संघर्षमैं रह्यो । यो दु:ख, यो बिषादलाई मैंले ‘हिरो र आश्वासन’ भन्ने लेखमा पनि समेटेको छु, जहाँ नेपालीको नियतिमाथि प्रतिकात्मक बनेर मैंले भनेको छु– ‘पहाडदेखि कलिलै उमेरमा मुगलान पसेको । कमानमा बसेपछि मालीको काम गर्न थालेको ।

फूल मन पर्नेलाई माली हुन पाउनु सर्वस्व नै हो । कन्सेप्सन जति नै सानो होस् तर त्यसभित्रको अस्तित्व नै ठूलो हुँदोरहेछ । यो मान्छे यसरी नै बाँचेको रहेछ अनि एकदिन यसरी नै तानसेन, विथोवेन, ओमर खइयम भानुभक्तलाई नचिनिकन बिलिन हुन्छ यो मान्छे, चियाबारीको माटोमा अस्तित्व मिलाएर । यो दु:खको आश्वासन यत्ति हो— यो सुन्दर फूल चट्टानमा मिल्नेछ ।’
संगीतका कारण जीवन गुजारा सँधै असहज थियो त ?
‘नौलाख तारा’ गीतबाट मैंले १ सय ३८ रुपैयाँ रोयल्टी पाएको थिएँ, रेडियोमा बज्न थालेको ६ महिनामैं । त्यसपछि गीत ‘ब्यान्ड’ भएको थियो ।
एकमुष्ट आम्दानी त्यही थियो, मैले पाएको । दार्जिलिङमा एउटा बिहारीको चिनारु पसलबाट उधारोमा सरसामान ल्याएर गुजारा चलाउँथे । धेरै पछि भुटानमा भएको एउटा सांगितीक सोका कारण ८ हजार रुपैंयाँजति कमाएको थिएँ । त्यसबाट पसलको ऋण तिरेको थिएँ, ६ सय रुपैंयाँजति । उसबेला त्यो कमाइबाट जुत्ता, कोट किनेको सम्झना अझै ताजै छ ।
तपाईंले आफूले १५ मिनेटमैं कम्पोज सिध्याएको एउटै गीत ‘रातो र चन्द्र सूर्य’ भन्नुभएको छ नि ?
गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्र सूर्य’ गीत श्यामदास बैष्णवले म एकेडेमी छँदै ल्याएर मलाई दिएका थिए । (बैष्णव पनि त्यसबेला सहसदस्य थिए ।) त्यो गीत आफैंमा साहस र वीरताको गाथाजस्तो अनुभुत भयो । म जुरुक्क उचालिएको थिएँ, त्यो गीत कम्पोज गर्दा । यति राम्रो राष्ट्रगीत मैंले अहिलेसम्म सुनेको छैन ।
अहिलेको राष्ट्रिय गान (सयौं थुङ्गा फूलका हामी) भन्दा धेरै उच्च कोटीको गीत हो यो ।
अस्ति भर्खरै अम्बर सर बन्दीपुर जानुभएको रहेछ, आफ्नो पुख्र्यौली खोज्दै । त्यसबारे केही पत्तो लाग्यो ?
मेरो बुबा उजिरसिंहले १७ बर्षको उमेरमा गोर्खाको रिसिङ छाड्नुभएको रहेछ, त्यसपछि उहाँ यता कहिल्यै फिर्नुभएन रे । रिसिङबाट एकदिन हिँडेर बन्दीपुर आइपुग्ने रे, त्यस्तो गफ सुनेको मैले सानोमा । त्यही भएर बन्दीपुर हेर्न गएको थिएँ । मैंले सुनेको हो, मेरो बुबा काईला थिए ।
साइला बडाबाको नाम भने क्याप्टेन खुइले गुरुङ थियो रे । हजुरबाको नाम देवराज गुरुङ थियो । अब त्यो थातथलोमा मेरा आफन्त कोही छन् कि खोज्न उत्कट इच्छा जागेको छ मलाई ।
फेरि संगीतकै कुरा गरौ । सर ट्युनले बढी हलचल गराउछ कि शब्दले ?
मेरो बुझाइमा ‘ट्युन’ हावाजस्तो हो, त्यसलाई गीतले उठाउँछ ।
यो अलिकति जटिल कुरा पनि हो । तर एउटा कुरा काव्य/साहित्य अध्यन गर्ने, बुझ्नेले भने भिन्न रुपमा लिएको हुन्छ, यो जिज्ञासालाई । मलाई ट्युनले आकर्षित गर्यो सँधैभर । सानो छँदा हिन्दी गीत, गजलको प्रभावमा पर्दा पनि मलाई ट्युनले बढी तानिरहन्थ्यो ।
दार्जीलिङ छँदा आफूलाई इन्द्रबहादुर राईले दिएको ज्ञान र हलुका चिजबाट बच्न दिएको कडा अर्तीको पनि तपाई सम्झना गरिरहनुहुन्छ नि ?
हो, म पनि कतिपयपटक लहडमैं चल्थें ।
आकाशमा लागिरहेथ्यो बादल, घरमा बसेर बजाइरहें मादल...’ जस्ता गीतमा धुन भर्न खोजिन्थ्यो । इन्द्रबहादुर राई दाजु भने एकदमैं कडा आलोचक हुनुहुन्थ्यो । सबैका सामु राखेर आलोचना गर्दिने बानी उहाँको थियो । उहाँले मलाई सस्ता भावनाहरुबाट जोगिन बाटो देखाउनुभयो । ‘लौ सुनौं, अम्बरले बनाएको गीत...लडीलडी उठें, उठीउठी लडें... भनेको के हो यो ?’ यसो भन्दै इन्द्रबहादुर दाइले हुर्मत लिनुहुन्थ्यो । सस्तो भावना र बहकाउमा हिँड्नु हुँदैन भनेर सम्झाउनुहुन्थ्यो ।
हो, यस्तै संगतका कारण मेरो बाटो बदलिएको हो ।
हरिभक्त कटुवालमाथि लेख्नुभएको रक्सीबारेको एउटा गीतको पनि चेलाहरुमाझ चर्चा हुने गरेको छ नि ?
हरिभक्त कटुवाल मेरा एक अभिन्न मित्र थिए । त्योभन्दा बढी कवि, प्रेमी, पागल । काठमाडौंमा धेरै प्रकरणहरु बितेपछि उनी आसाम जाँदैछन रे, न्यूरोडको मारवाडी सदनमा बसेका छन् रे भन्ने सुनेपछि म त्यहाँ पुगेको थिएँ । उनी सबै दाह्रीकपाल खौरिएको अवस्थामा थिए र, फ्यानहरुले घेरिएका समेत थिए । हरिभक्तको बानीबेहोरा र ‘आगोको मुश्लो छ मेरो मनमा’ भन्ने उनको थेगोलाई समातेर मैंले एक गीत लेखेको थिएँ । त्यो गीत म उनीलाई सुनाउन चाहन्थें तर पाइनँ ।
गीतले भन्छ–
‘त्यो काँचको गिलास फेरि नछुनु
छातीको घाउलाई त्यसले नधुनु
त्यो रक्सी होइन आगो हो हजुर
आगोलाई हातले कहिल्यै नछुनु...’
अनि शंकर लामिछाने, इश्वर बल्लभ, बैरागी काइलाहरुसँगको सानिध्य ?
हो, मलाई आज सबैभन्दा बढी सम्झना शंकर लामिछानेको आउँछ । उहाँ एउटा प्रबुद्ध व्यक्ति हो र मानवीय कुरा गर्ने मान्छे पनि । शंकर दाइमा आडम्बर थिएन ।
हिजोआज छाउनी कार्यालय (एकेडेमी) आएगए पिच्छे म शंकर दाइलाई सम्झिरहेको हुन्छु । (छाउनीमैं शंकरको घर थियो ।) बैरागी र इश्वर बल्लभ भने बढी कृतज्ञ रहनुहुन्थ्यो, आलोचक भन्दा पनि ।
कविवर माधव घिमिरेलाई कसरी लिनुहुन्छ ?
माधव घिमिरे नेपाली कविता र गीतमा ऐतिहासिक ‘फिगर’ नै हो । उहाँका गीतहरु बढी कवितात्मक हुन्छन् । ‘मालती मंगले’को संगीत भर्दा घिमिरेले दिनुभएको साथ र सहयोग उल्लेख्य छ । त्यहीबेला लामो समयदेखि सम्बन्ध बिग्रिएको नारायण गोपालसँग मिलाप गराइदिने ‘सेतु पात्र’ पनि माधव घिमिरे नै हुनुहुन्छ । मैले अरु कसैको संगीतमा एउटै मात्र गीत गाएको छु । त्यो हो, माधव घिमिरेको शब्द ‘पहिलो बास बस्दछ यात्री, झ्याउँकिरी रुवाइमा...’ बोलको गीत हो जसमा नातीकाजीको संगीत रहेको थियो ।
अम्बर सर दार्जीलिङ छँदै क्यान्टाटाको सांगीतिक प्रयोग भएको हो भन्ने सुनिन्छ । सरको क्यान्टाटा अनुभव कस्तो रह्यो ?
क्यान्टाटा जस्ता प्रयोगशील काम गर्दा ‘तिमी नयाँ कुरा गर्दैछौ भाइ’ भन्ने एउटै अग्रज हुनुहुन्थ्यो, शंकर लामिछाने । २०२५ सालतिर क्यान्टाटा गर्दा राम्रा गायक/गायिका पाउन मुश्किल भो दाइ भनेर शंकर दाइसँग कुरा गर्दा उहाँ ‘अम्बर, पर्खालमैं तिम्रो द्वार छ’ भनेर नित्से सम्झाइरहनुभएको हुन्थ्यो ।
त्यसबेला समार्टियन बाकको क्यान्टाटा सुनेर म औधी प्रभावित भएको थिएँ । त्यसको ‘लिव्रेटो’ भने स्मृति शीर्षकमा इश्वर बल्लभले लेखेका थिए । दार्जीलिङमा त्यो पहिलोचोटी भएको क्यान्टाटा प्रस्तुति थियो । अर्केष्ट्रामा गाउनका लागि अगमसिंह गिरीको प्रेरणामा म आफैंले ‘नालापानी’ शीर्षकमा अर्को गीत पनि लेखेको थिएँ । तर त्यो योजना भने पूरा भएन ।
तपाई कस्ता प्रकृतिका गीत रुचाउनुहुन्छ ?
गीतको कुरा गर्दा प्रेमगीत जत्तिको शशक्त गीत अरु हँुदैन । प्रेम चाहे बियोगान्त होस् वा संयोगान्त । भनाइ नै छ नि एउटी नारीले कि कसैको जीवन बनाइदिन्छे, कि बिगारिदिन्छे रे । यी गीत, भावना र प्रेमका तुक्काहरु नारीसँगै जोडिएका कुरा हुन् । र, हरेक प्रेमले कथा बनाउँछ, गीत बनाउँछ । तर प्रेममा संवेदनशीलता चाहिन्छ, सिंगार होइन । सच्चा गीत कलमले होइन, मनले लेखिन्छ भन्ने मलाई लाग्छ । फेरि म गीतमा ‘पेन्टिङ’ रुचाउँछु ।
तर यस्ता गीत बुझ्ने स्रोताको यहाँ एकदमैं खडेरी छ । जस्तो, मैंले धवलागिरी जाँदा देखेको एउटा दृष्यमा लेखेको थिएँ,
‘जसै केश तिमीले फुकायौ
हावा गजबसँग लहरायो
जिन्दगीले हेर मुस्कुरायो...’
सरसँग अरुणा लामा, शान्ति ठटाल जस्ता गायिकाले निकै संगत गर्नुभएको छ । कसरी लिनुहुन्छ यी प्रतिभालाई ?
हो, शान्ति ठटाल र अरुणा लामा एकदमैं ठूला गायिका हुन् । अब नेपाली संगीतमा यत्तिका गायिकाहरु शायदै जन्मेलान् ।
अरुणा दबेको आवाजमा गाउँथिन् तर फिलिङ्ससहित । शान्तिको भने निकै खुलेको आवाज थियो । मेरो अनुभवमा नारायण गोपाल र भक्तराजको पनि निकै खुलेको (स्वच्छन्द) स्वर थियो ।
सडकमा हिडिरहेका बेला अथवा कतै कुनै अपरिचितले ‘ऊ त्यो अम्बर गुरुङ’ भनेर टिप्पणी गरेको सुन्दा कस्तो अनुभव हुन्छ ?
जति टिप्पणी, आलोचना गरिरहे पनि म नेपाली समुदाय, स्रोता र संगीत–मर्मज्ञसँग साँच्चिकै कृतज्ञ छु ।
उनीहरुले ‘नौलाख तारा’को युगदेखि आजसम्म साथ–सहयोग नदिएको भए म आज कतै हराइसकेको हुन्थें । एकचोटी म टेम्पो चढेर चन्डोल गइरहेको थिएँ । र, सामु बसेका तीनजना केटीहरुको कानेखुशी सुनिरहेको थिएँ ।
एउटीले भनी– यो अम्बर गुरुङ हो । अर्कीले भनी– होइन, अम्बरजस्तो लागेको मात्रै हो । अर्कीले सोधी– ‘के तँलाई संगीत मन पर्छ’ ? जवाफ सुनियो– ‘मन त पर्छ, तर पुरानो संगीत मनै पर्दैन’ भनेर मलाई जिस्क्याइरहेका थिए । म टेम्पो उत्रेर अलिक पर पुग्दा भने तिनी ठिटीहरु मतिर फर्केर हात हल्लाइरहेका थिए ।
फ्यान भेट्नुको रमाइलो सन्दर्भ ?
दिनरात फोन आउने, चिठीपत्र आउने टाइपका फ्यान भने मलाई मन पर्दैन । एकपटक महाराजगंजमा एउटा सैलुनमा कपाल काट्न बसिरहेका बेला आफूलाई फ्यान बताउने व्यक्ति नजिकै आएर भने– ‘तपाई गोपाल योञ्जन होइन त ? हेर्नुस्, अम्बर गुरुङ भने धेरै पिएरै बिते, तपाई भने नपिउनुहोला है ।
बाँच्नुपर्छ, बाँचेर केही गरेर देखाउनुपर्छ ।’ ओहो, अब यी फ्यान कस्ता होलान् जसले अम्बर र गोपालमा अन्तर देखेनन् !
जीवनमा सन्तुष्टीको आधार के होला ? के तपाई सन्तुष्ट हुनुहुन्छ ?
मनका आधारमा कुरा गर्ने हो भने म साँच्चिकै सन्तुष्ट छु । आर्थिक आधार सोच्ने हो भने म निरास मात्रै भइरहन्छु ।
आर्थिक कारणमैं श्रीमती र परिवारको गुनासोले धेरै ‘पिन्च’ गर्ने गरेको छ । तर यो पिन्च, दु:ख र गुनासोलाई मैंले कहिल्यै पनि नेगेटिभ रुपमा लिइनँ । शंकर दाइ पनि भन्नुहुन्थ्यो— दु:खले तिमीलाई मार्ला जस्तो गर्छ, शाशै लेला जस्तो गर्छ, प्राणै लैजाला जस्तो हुन्छ– तर मरिहालिदैन भाइ । सरलाई फ्यान, फलोवरले भविष्यमा सम्झना कसरी होस् भन्ने लाग्छ ? मरेपछि के हुन्छ, के हुन्छ– कसलाई के थाहा ? मरेपछि मलाई कसैले पनि सम्झना नगरुन् भन्ने लाग्छ एकातर्फ । फूलैफूलले मेरो शव ढाकिन्छ कि अथवा सडक खाली हुन्छ कि, के थाहा ? तर के पनि लाग्छ भने मैंले संघर्षमैं जीवन बिताएँ । म व्यक्तिलाई होइन कि मेरो संघर्षलाई सम्झना गरिदेउन् भन्ने लाग्छ । प्रकाशित: जेष्ठ २५, २०७३

No comments