विदेशबाट फर्किंदा के-के समानमा भन्सार लाग्दैन ? थाहा पाउनुस्
तपाई विदेशबाट स्वदेश फर्कंदा आफूलाई मन परेका सामानहरु किनेर र्फकँदै हुनुहुन्छ ? थाहा पाइराख्नोस् त्रिभुवन विमानस्थलमा तपाईले के-के सामान विना भन्सार छिराउन पाउनुहुन्छ र के कस्ता सामानमा भन्सार तिर्नुपर्छ ? विमानस्थलको आगमन कक्षमा तपाई एकैछिन उभिनुभयो भने विदेशबाट फर्किएका अधिकांश नेपालीले ठूला टेलिभिजन ल्याएको देख्नुहुन्छ । पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किँदा एलइडी टेलिभिजन ल्याउनु समान्य जस्तै भएको छ ।

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई ३२ इञ्चसम्म्को टेलिभिजनमा एक रुपैयाँ पनि भन्सार शुल्क लिने गरेको छैन । सरकारले टेलिभिजनमा मात्रै होइन, विदेशबाट फर्किंदा ल्याइने धेरै व्यक्तिगत प्रयोजनका मालसामानमा भन्सार छुटको व्यवस्था गरिएको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढंगानाले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार व्यक्तिगत प्रयोजनका निजी गुन्टा र झिटी भारीका लागि यस्तो व्यवस्था गरिएको हुन्छ । यसरी दिइने भन्सार छुटको फाइदा उठाउनेको संख्या पनि ठूलो छ ।
नेपाल आउँदा ३२ इञ्चसम्मको टेलिभिजन ल्याउन कम्तिमा १ वर्ष विदेश बसेको हुनपर्ने व्यवस्था छ ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन । औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था छ ।
यस्तै ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पनि भन्सार छुट पाइन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि भन्सार तिर्नुपर्दैन । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन । यस्तै चार किलोग्रामसम्म खाद्यान्न ल्याउन पनि कर लाग्दैन भने १.१५ लिटरसम्मका मदिरा बोक्नेले पनि भन्सार तिर्नुपर्दैन ।
समदरमा भन्सार तिरेर ल्याउन पाइने सामान
६ महिनासम्म विदेशमा बसेर फर्किएकाहरुले ३२ इञ्च भन्दा बढीको टेलिभिजन, म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पङ्खा र रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा भन्सार तिर्नुपर्छ । १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोएकिो भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि तोकिएको भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ ।

No comments