होली खेल्दा होस नगरे ज्यानै जाने खतरा
Harek Samachar
5:34 PM
0
हिन्दूहरुको महान पर्व होली यसवर्ष पनि विधिवत रुपमा सुरु भइसकेको छ । होली रङहरूको पर्व हो । होलीको दिन एक अर्कालाई विभिन्न प्रकारका रङहरू लगाएर रमाइलो गर्ने गरिन्छ । होलीमा साना बालबच्चादेखि वृद्ध वृद्धासम्म सबै होली खेलेर एक अर्कासँग भएको पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक अर्कासँग आत्मियता गाँस्ने गरिन्छ ।
होली पर्व घरपरिवार, साथीभाइ आपसमा रङमा रंगिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू हातमा रंग र रंगिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ मनाइने रंगिन पर्वको रुपमा लिइन्छ । यस्तो पर्वलाई नखेल्न भन्न पनि सकिदैन । यसरी होली खेल्दा विभिन्न रोगहरु लाग्न सक्छन् ।
विशेषगरी दुई प्रकारले रोगहरु देखा पर्ने गदर्छन । रङ र केमिकल । रङले कसैलाई एलर्जी गराइदिन्छ । सबै मानिसको छाला एकै प्रकारको हुँदैन । छालाअनुसार विभिन्न रोग देखा पर्न सक्छन् । अर्कोतर्फ रङ आफै बन्दैन । रङ बन्नका लागि विभिन्न केमिकलको आवश्यक पर्ने गर्छ । जस्तोकी, मर्करी, ग्यासेस, कपर, आम्नियम, सिल्वर जस्ता केमिकलको प्रयोग गरेर रङ बनाउने गरिन्छ ।
यिनीहरुको प्रयोग छालमा हुँदा विभिन्न रोगहरु देखापर्न सक्छन् । छालाको एलर्जी हुने, आँखा रातो हुने, आँखाबाट पानी आउने, चिलाने र क्यान्सरसम्मका रोगहरु देखा पर्न सक्ने हुन्छन् । त्यसैगरी दमका रोगीलाई त झन यसले हानी गर्ने नै भयो । अर्को केमिकल लिडले छालालाई कालो बनाउँछ । हरेक मानिसले आफ्नो छालालाई विशेष महत्व दिएका हुन्छन् । हुनपनि मानिसलाई सुन्दर देखाउने छालाले नै हो ।
यसरी कालो बन्दै गएको छालाबाट विस्तारै क्यान्सरले जरा गाड्न सक्छ र बेलैमा उपचार नपाए हामी जस्ता डाक्टरहरुले पनि उनीहरुलाई मृत्युको मुखबाट बचाउन गाह्रो हुन्छ । यसरी विभिन्न केमिकलअनुसार विभिन्न किसिमका रोगहरु देखा पर्ने गर्दछन् । अर्कोतर्फ अहिले व्यापक मात्रामा देखा परेको हङकङ फ्लु रोग हो । यो एक प्रकारको इन्फ्लुएन्जा भाइरसबाट सर्ने गर्दछ ।

हामीले दिनहुँजसो यस रोगका विरामीहरु उपचार गरेर पठाउने गरेका छौं । यसरी एकअर्कामा होली छ्यापाछ्याप गर्ने बेला नजिक हुँदा यस्तो रोग पनि सर्ने सम्भावना व्यापक मात्रामा हुन्छ । त्यसैले होलीमा होस गुमाएर खेलिएन भने ज्यान नै जानसक्ने जस्ता रोगहरु पनि आउन सक्छन् । त्यसैगरी अन्य विभिन्न सरुवा रोगहरु पनि देखा पर्न सक्छन् ।
अहिले औलो देखा पर्न सुरु गरेको छ । यसरी एक अर्कामा निकटमा भएर उमङ्गमा रमाउँदा यस्ता सरुवा रोगहरु पनि लाग्ने सम्भावना बढी मात्रामा हुन्छ । काठमाडौंमा पानीको हाहाकार हामी आम मानिसले भोग्दै आएको समस्या हो । पानीको अभावमा होली खेल्दा फोहोर पानी प्रयोग गर्ने गरिन्छ । जति पनि रोगहरु सर्ने गर्छन् ती विशेषगरी पानीबाट नै सर्ने गर्दछन् ।
फोहोर पानीले पनि विभिन्न रोगहरु सार्ने गर्छन् । होलीमा विशेषगरी युवावर्गहरुले गाँजा, भाङजस्ता लागुऔषधहरु सेवन गरेर होली खेल्ने प्रवृत्ति जुन छ त्यसले पनि दुर्घटना र अन्य रोगहरु सार्न सक्छ । त्यसैले होली खेल्दा केही सावधानी अपनाउने हो भने यस्ता रोगहरुबाट बच्न पनि सकिन्छ ।
उचित रङको छनौट
रङ किन्दा विशेष ध्यान दिनु पर्छ । खुल्ला रङ सकेसम्म नकिन्ने, किनकी खुल्ला रङमा बढीमात्रामा केमिकल मिसाइएको हुन्छ । रङले एलर्जी गराउँछ । त्यसैले रङको छनौट गर्दा आफूलाई मनपर्ने रङको छनोट गर्नुपर्छ । जसले केहीहदसम्म एर्लजीलाई कम गर्न सक्छ ।
आँखा चिम्लिने
होली छ्याप्ने बेलामा सकेसम्म आँखा चिम्लनु पर्छ । आँखामा रङ लाग्ने बित्तिकै तुरुन्त आँखा सफा पानिले धुन पर्दछ । त्यसो गर्दा पनि आँखा विजाइराख्यो भने तुरुन्त आँखा डाक्टरसँग सम्पर्क राख्नु पदर्छ ।
रङ ननिल्ने
रङ सकेसम्म ननिल्ने । रङमा विभिन्न केमीकल मिसाएको हन्छ । जसले सिधै हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्दछ । यदि रङ निलीहालेमा तुरुन्त सफा पानीले मुख सफा गर्नुपर्दछ ।
अनुहारमा कलर नगर्ने
अनुहारमा विभिन्न कलर गर्ने प्रवृति बढ्दै छ । त्यसरी कलर गर्नाले हाम्रो छालालाई कालो र कुरुप बनाउँछ । कालो छाला बिस्तारै फैलँदै जान्छ । यसरी डडेको छालाबाट क्यान्सर हुने सम्भावना भएकाले अनुहारमा कलर गर्नु हुँदैन ।
फोहोर पानीको प्रयोग नगर्ने
फोहोर पानीले जण्डिस, टाइफाइड, रुघा, ज्वरोजस्ता समस्या ल्याउँछ । अर्कोतर्फ सरुवा रोगहरु पनि पानीकै कारणले लाग्ने गर्छ । त्यसैले फोहोर पानीको प्रयोग गर्नु हुँदैन । होली खेल्दा सकेसम्म आफ्नै परिवारभित्र र सावधानी पुर्याएर खेल्दा यस्ता समस्याबाट बच्न सकिन्छ ।

No comments