नुवाकोटमा गोरु जुधाएर माघे संक्रान्ति मनाईंदै
Harek Samachar
1:43 AM
0
नेपालको तराई क्षेत्रमा थारू बस्तीहरूमा माघे संक्रान्तिलाई माघी भनेर हर्षोल्लास साथ मनाइन्छ तर नुवाकोटमा भने माघे संक्रान्तिमा गोरु जुधाएर रमाइलो गरिने गर्छ । नेपाली ‘बुलफाइट’ भनिने गोरु जुधाउने मेला तारुका र बेत्रावतीमा आज २० जना हल गोरु जुधाउने तयारी भएको छ ।
तारुका–५ चन्दनीको बारीको पाटोमा यो वर्ष गोरु जुधाउन १५ हल दर्ता भएको माघे संक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकरजा ढुङ्गानाले जानकारी दिएका छन् ।
मेलामा सहभागी गराउने गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दाना सहित दुर्घटना बीमा समेतको व्यवस्था गरिएको समितिले जनाएको छ । यस्तै, नुवाकोटको बेत्रावतीमा यो वर्ष पाँच हल गोरु जुधाईंदैछ । गोरु जुधाउने मेलालाई व्यवस्थित र सुरक्षित बनाउन ध्यान दिइएको आयोजक गोसाईकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले जानकारी दिए ।
नुवाकोटमा गोरु जुधाउन थालिएको आधिकारीक तिथि मिति थाह नभए पनि यो दुई सय ५० वर्षभन्दा पुरानो मानिन्छ । पहिले–पहिले आ–आफ्नो टोल–टोलमा सीमित क्षेत्रमा गोरु जुधाएर मनोरञ्जन लिने गरिएको तारुका २०६१ सालबाट व्यवस्थित रूपमा एकस्थानमा गोरु जुधाउन थालिएको हो । यस्तै, बेत्रावतीमा भने २०६४ सालबाट व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको हो ।


No comments