बल वैंश सकिएपछि देश फर्किएर मैले के गर्न सकुँला र ?
Harek Samachar
3:41 PM
0
जुलाई महिनामा म गल्फ एयरको जहाजमा रोजगारीका लागि कतार जाँदै थिएँ । पहिलो पटक घर छाडेर विदेश हिँडेको थिएँ । आकाशमा उडेको बाहेक कहिल्यै पनि नजिकबाट जहाज देखेको थिइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोचोटी ठूल्ठूला जहाज देख्दा छक्कै परेको थिएँ । विदेश जाने सपना देख्दा जति रमाइलो लागेको थियो, जहाजमा चढेपछि कुनै उमंग थिएन । घर परिवारसँगको बिछोड र दुई वर्षसम्म विदेशमा नै बस्नुपर्ने सम्झेर नियाँस्रो भइरहेको थियो । जब जहाजले धावन मार्ग हुँदै आफ्नो यात्रा अरबतर्फ अगाडी बढायो मनमा एक किसिमको डर पैदा भएको थियो ।
जहाज बेला बेलामा तलमाथि गर्दा ज्यान सिरिंग हुन्थ्यो । अनि दाह्रा किटेर दुवै हातले आफू बसेको सिट बल गरेर माथितिर तान्थें । मध्यान्हमा जहाज आफ्नो गन्तव्यमा रोकियो । म पनि अरु यात्रुसँगै जहाजको सिंढी हुँदै ओर्लिदै थिएँ । ओर्लिदा ओर्लिदै बाहिरको तातोले अत्यायो । म त आत्तिएर दुई तीन सिंढी माथि पो चढेछु नयाँ ठाउँ, नयाँ परिवेशमा आफूलाई ढाल्न साह्रै गाह्रो भयो । पछि बानी पर्दै गयो । कतारको दुई वर्षे बसाई दुई सय वर्ष जत्तिकै लामो लाग्यो ।
कतारबाट फर्किए पछि नेपालमै जागिर खोजियो । तम्घास, बुटवल हुँदै जागिर खोज्दै काठमाडौं पनि पुगें । तर वर्षदिन बित्दा पनि जागिर पाइएन । पाइहाले पनि ५/७ हजार रुपैयाँ भन्दा धेरै तलब नपाइने । त्यसपछि फेरी विदेश जाने निधो गरियो । विदेश जानेबाहेक अरु विकल्प देखिन मैंले । अनि तीन महिना म्यानपावर धाएँ । एक लाख २० हजार रुपैयाँ तिरेर साउदी आएको छु । यो मरुभूमिमा संघर्ष चलिरहेकै छ ।
दिनहुँजस्तो भैरहने बन्दहड्तालले आफ्नै देशमा केही गर्न सक्ने अवस्था नरहेकैले हामी पराई भूमीमा पसिना बगाउन बाध्य छौं । देशमा भइरहेको घिनलाग्दो राजनीति कहिले बन्द होला । अरबबाट उन्मुक्ति पाउने दिनको पर्खाइमा छु । त्यो बेलासम्म त बलवैंश पनि सकिन्छ होला । अनि जोश जाँगर बिनाको अशक्त शरीर लिएर आफ्नो देश फर्के पनि मैले के नै गर्न सकुँला र ?

No comments