युएईमा नेपालीले गर्ने १३ काम, जुन दण्डनीय छन्
Harek Samachar
4:14 AM
0
वैदेशिक रोजगारीका लागि युएई राम्रो गन्तव्य हो । नेपाल सरकारको तथ्यांकले युएईमा तीन लाख नेपाली श्रमिक रहेको देखाएको छ । तर योभन्दा बढी नै नेपाली कामदार यहाँ रहेको अनुमान गरिएको छ । यहाँ विविध प्रकृतिका रोजगारीमा नेपाली कार्यरत छन् । सन् १९८० को दशकदेखि नै यहाँ नेपालीको आगमन भएको पाइन्छ । तर, कुवेत र इराकको युद्धको समय सन् १९९० ताका नेपाली कामदारको संख्या वृद्धि भएको थियो । हाल दैनिकजसो यो संख्यामा वृद्धि हुँदै गएको छ ।
युएईमा नेपाली दक्ष, अर्धदक्ष एवं अदक्ष कामदार कार्यरत छन् । संख्यात्मक रुपमा हेर्दा अदक्ष कामदार नै करिब ८० प्रतिशत, अर्धदक्ष कामदार १५ प्रतिशत र दक्ष कामदार पाँच प्रतिशत छन् । हाल नेपाली व्यवसायीको वृद्धि पनि उल्लेखनीय छ । तर, एकै किसिमको व्यवसायमा लगानी गर्ने परम्पराका कारण नेपालीबीचमै प्रतिस्पर्धा चलेको देखिन्छ । बहुसंख्यक नेपाली रेस्टुरेन्ट व्यवसायमा सक्रिय छन् । जसकारण गैरनेपाली व्यवसायीभन्दा नेपालीबीच नै प्रतिस्पर्धा रहेको छ ।
नेपालीले युएईको कानुन नबुझ्दा
युएई सरकारको कानुन कडा छ । त्यसैले युएईमा विविध मुलुकका नागरिक व्यवसाय, रोजगारी एवं सुरक्षित पर्यटकको रुपमा आगमन गर्छन् । यहाँ सबै भाषा, जाति र धर्मका मानिसका लागि एकै प्रकृतिको कानुन छ ।
यहाँको कानुनी ज्ञानको अभावका कारण बहुसंख्यक नेपालीले कानुन उल्लंघन गर्न पुग्छन् र सजायका भागिदार बन्छन् ।
गम्भीर प्रकृतिका भन्दा सामान्य प्रकृतिका कानुन उल्लंघन गरी सामान्य सजाय भोगिरहेका नेपालीको संख्या बढी रहेको एनआरएन एनसीसीका उपाध्यक्ष रमेश श्रेष्ठ बताउँछन् । एनसीसी युएईले हाल युएईका विभिन्न जेलमा नेपाली के-कति र कस्ता प्रकृतिका सजाय भोगिरहेका छन्, सोको जानकारी लिन एनसीसी अध्यक्ष सुदीप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ र एनसीसी युएईकी महिला संयोजक कल्पना राई नेपाली दूतावास युएईसँगको सहकार्यमा भ्रमण गरेका थिए ।
उक्त भ्रमणले नेपालीमा जनचेतनाको अभाव नै यहाँको कानुनी दायरामा नेपाली जेल परेको निष्कर्षमा पुगेको एनसीसी युएईका अध्यक्ष सुदीप कार्कीले बताए । साथै, नेपाली श्रमिकलाई जनचेतना एवं यहाँको कानुनबारे जानकारी गराउने उद्देश्यले गत प|mेब्रुअरीलाई जनचेतना महिना घोषित गरी युएईका विविध राज्यमा नेपालीलाई जनचेतना जगाउने कार्यक्रम आयोजना गरिएको जानकारी गराए । उनले अब प्रत्येक ३ देखि ६ महिनाको बीचमा यस प्रकृतिका कार्यक्रमको निरन्तरता एनसीसी युएईलेे आयोजना गर्ने कुरा पनि अवगत गराए ।
नेपालीले गर्ने गल्ती
१. सार्वजनिक स्थलमा मादकपदार्थको सेवन गर्नु ।
२. मादक पदार्थ खरिदको अनुमतिपत्रविहीन मादक पदार्थ ओसारपसार गर्नु वा आफू बस्ने स्थानमा संकलन गरी राख्नु ।
३. सिगरेटको ठुटा, खाना प्याक गरेका कागजजस्ता सामग्री बाटो एवं सार्वजिक स्थलमा जथाभावी फ्याँक्नु ।
४. ट्राफिक नियमको उल्लंघन गरी जेब्रा क्रसिङ र ट्राफिक सिंग्नलबाहेकका क्षेत्रबाट बाटो काट्नु ।
५. सार्वजनिक स्थलमा पानीले गाडी सफा गर्नु, गाडी सफा गरी पानी जथाभावी फ्याँक्नु वा घरमा प्रयोग भएको एयर कन्डिसनको पानी बाटो वा सार्वजनिक स्थलमा बग्नु ।
६. युएईदेखि बाहिर फोन गर्न सस्तो हुन्छ भन्ने उद्देश्यले विविध किसिमका सस्ता टेलिफोन कार्डको व्यापार वा प्रयोग गर्नु ।
७. सार्वजनिक एवं प्राइभेट सवारी-साधनमा अनैतिक एवं आपत्तिजनक व्यवहार वा कार्य गर्नु ।
८. नाता सम्बन्धबाहेकका महिला-पुरुषले सार्वजनिक स्थलमा चुम्बन, अंकमाल गर्नु ।
९. नाता सम्बन्धबाहेकका महिला-पुरुष एउटै कोठामा बसोवास गर्नु ।
१०. आफ्नो कार्यक्षेत्रमा चोरी गर्ने प्रवृत्ति एवं आवेशमा आई आफूभन्दा माथिका कर्मचारीसँग झै-झगडा गर्नु ।
११. अपरिचित व्यक्तिसँग मोबाइल, टेलिफोन एवं सामाजिक सञ्जालमा यहाँको कानुनले बन्देज गरेका कार्य गर्नु ।
१२. कुनै पनि धर्म, जाति, भाषाको विषयमा आपत्तिजनक टिप्पणी गर्नु वा विरोध गर्नु ।
१३. अचानक आवेशमा आई झै-झगडा गरी मारपिट गर्नु वा सामूहिक रुपमा कुटाकुट गर्नु ।
माथि उल्लिखित कार्य सामान्य प्रकृतिका देखिन्छन् । तर, यहाँको कानुन तथा यहाँको मुनिसिपलिटीले गैरकानुनी कार्यको रुपमा उल्लेख गरेको छ । त्यसैले माथि उल्लिखित कुराको उल्लंघनले कानुनी कठघरमा उभ्याउन सक्छ । बहुसंख्यक नेपाली पनि माथि उल्लिखित कार्य गरेका कारण विभिन्न प्रकृतिको सजाय भोगिरहेका छन् । त्यसैले नेपाली श्रमिकमा जनचेतना अभिवृद्धि गर्न आवश्यक छ । युएईमा नेपालीले सवारी दुर्घटनाका कारण पनि ज्यान गुमाएका छन् । जथाभावी सडक पार गर्नाले ज्यानै जानेदेखि अंगभंग हुने भएको छ । त्यस्तै, सडक नियम तोडेकाले आर्थिक जरिवाना पनि तिरिरहेका छन् ।
त्यसैले युएईमा कार्यरत नेपालीलाई जनचेतना दिन आवश्यक छ । यस्ता कार्य गर्न यहाँ प्रशस्त नेपाली संघ-संस्था पनि छन् । ती संघ-संस्थाले नेपालीलाई युएईमा आवश्यक जनचेतना दिन आवश्यक देखिन्छ । साथै, यहाँ आउनुअघि नै पनि सरकारी तबरले सामान्य प्रशिक्षण दिन सकिन्छ ।
युएईमा अन्तर्राष्ट्रिय रुपमा फैलिएको गैरआवासीय नेपाली संघ, युएईको सबैभन्दा पाको संस्था नेपाली समाज, अन्य अञ्चल, जिल्ला, क्षेत्रीय, जातीय आदि संस्था अस्तित्वमा छन् । तर, एकापसमा सहकार्य र एकता हुन सकेको पाइँदैन ।
गत प|mेब्रुअरीमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् युएईले माथि उल्लिखित युएईको कानुनबारे जनचेतना जगाउने उद्देश्यले नेपाली दूतावाससँग सहकार्य गरेको थियो । उक्त कार्यक्रम युएईका विभिन्न इमिरेट्समा रहेका नेपालीका क्याम्पमा पिकनिक, फुटबल खेललगायत मनोरञ्जनात्मक कार्य गरेर सम्पन्न भइसकेको छ । सबै संघ-संस्थाले एकापसमा सहकार्य गरेर अगाडि बढ्ने हो भने त्यसको प्रत्यक्ष-परोक्ष फाइदा नेपालीलाई नै हुन्छ ।


No comments